साइकल मर्मतमै ३७ वर्ष


२५ भाद्र २०७९, शनिबार
cycle marmat

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् । यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन् । उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ ।

सुरुमा यस क्षेत्रमा उनको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् । कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेपेका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् । उनको साइकल मर्मत गर्ने काम बाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन ।

‘देश-विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ’, भक्तबहादुर भन्छन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ । भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थे । ‘सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो’, भक्तबहादुर भन्छन् ।

भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए । उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । ‘यही मेरो स्थायी काम भयो’, उनले सुनाए ।

जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन् । ‘बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो’, उनी भन्छन् । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गरे ।

भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक रु १५ हजार जति कमाउँछन् । यसैबाट घर परिवार चलाउँछन् । उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँछन् । ‘मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो’, उनी भन्छन् ।

लामो समयदेखि साइकल मर्मतको सीपमा लागेका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् । चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउँछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उनी उल्लेख गर्छन् । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्न समेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७