दार्चुला बाढी-पहिरो अपडेट : मृत्तक पाँच र बेपत्ता तीन जनाको खुल्यो पहिचान


२५ भाद्र २०७९, शनिबार
darchula

दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।

badhi darchula 1

गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना र १३ वर्षीया धनुली ठगुन्ना तथा वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। नौगाडमा पहिरोले १२ घर पूर्ण रूपमा क्षति पुगेको छ । यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका-३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए। उनीहरुको खोजी भइरहेको छ । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ । पावर हाउस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूणर्रुपमा क्षति भएको छ ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको बितन्डा। महाकाली र लास्कु खोलाले दर्जनौं घर बगाउनुका साथै आधा दर्जन स्थानीय बेपत्ता छन् ।

नदी कटान जोखिम कायमै छ । दुहुँ खलङ्गा जोड्ने दार्चुला तिङ्कर सडक बन्द छ भने झोलुगे पुल बगाएको छ । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ । दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँचवटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७