दार्चुला बाढी-पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात जना अझै बेपत्ता

घाइतेको सेनाको हेलिकोप्टरबाट उद्धार


२५ भाद्र २०७९, शनिबार
darchula

दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

पहिरोमा परी नौगाड-४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेरअघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए ।

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली-३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चार जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७