वामपन्थीका नाममा प्रचण्ड-माधवले कुकर्म गरे, गठबन्धनका मतियार बने : पोखरेल

‘हरेक सदस्यले दुई जना मतदाता बढाए एमालेको सहजै बहुमत आउँछ’


२५ भाद्र २०७९, शनिबार
ishwor pokharel

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनका मतियारहरुसँग मोर्चा नबन्ने बताएका छन् । ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएका मतियारको संज्ञा दिए ।

‘यो कुहिएको गठबन्धनका मतियारहरुसँग कसरी वाम मोर्चा हुनसक्छ ? उनीहरु कसरी वामपन्थी हुनसक्छन् ?,’ उनले प्रश्न गरे, ‘किताबमा वाम पन्थीहरुको एकताबारे पढाइन्थ्यो । तर यो अहिलेको यथार्थ हो । वाम मोर्चा हुन सक्दैन ।’

उनले वाम पन्थीहरुको नाममा उनीहरुले (प्रचण्ड-माधव) ले कुकर्म गरेको आरोप समेत लगाएका छन् । ‘वामपन्थीको नाममा उनीहरु कुकर्म गर्नेहरु छन् । उनीहरु वाम मोर्चामा रहन सक्दैनन्,’ उनले थपे, ‘लामो समयसँग सहकार्य गरेका साथीहरुलाई त्यसो भनिरहँदा मलाई पनि कस्तो कस्तो त लाग्दो हो नि । तर लागेर के गर्नु । राजनीतिको यथार्थ यही हो ।’

उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित मोरङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पुर्‍याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए । यसकारण निरन्तर जनता माझमै रहन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताए । उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे ।

उनले थपे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानु होला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँसुकै जेसुकै गरे पनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नु भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७