सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु छलफलमा


२५ भाद्र २०७९, शनिबार
Gathbandhan Top five leader of nepal

काठमाडौँ । सिट बााडफाँटलाई टुङ्गोमा पुर्‍याउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन नेताहरू छलफलमा जुटेका हुन् । केहीबेरअघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक बसेको हो ।

सिट बाँडफाँटको विषय टुंगो लगाउन निर्णायक बैठक जारी रहेको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।

तर, कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन । कार्यदलले एकमात्रै दलको दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । एकभन्दा बढी दलको दाबी रहेका निर्वाचन क्षेत्रका विषयमा शीर्ष नेताहरूबीच समझदारी बनेको छैन । त्यसो त, अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने समेत टुंगिएको छैन ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।

शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका छन् । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७