समता फुटबल प्रतियोगिता : नमस्ते सुपर खोटाङ यातायात प्रालिको विजयी शुरुवात


२६ भाद्र २०७९, आईतवार
samata football opened khotang 1 .jpg

खोटाङ । खोटाङको दिक्तेलमा शुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको छ ।

समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेल मैदानमा शुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।

samata football opened khotang 2 .jpg

आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए । यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा ३.३० बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको सहभागीता रहेको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७