बुटवलबाट हराएका तीन बालक भारतको मुम्बईमा भेटिए


२६ भाद्र २०७९, आईतवार
balak

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता तीन बालक भारतको मुम्बई पुगेको पाइएको छ । बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि शुरु भएको थियो । प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिएका छन् ।

उनले भने, ‘बेपत्ता बालकमध्ये एक जना अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग छ । अन्य दुई बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान जानकारी हुन्छ ।’ १५ वर्षीय समीर लम्सालका भान्जा दाइ र बुबाले मनग्य आम्दानी र चाहेको काम पाउने भन्दै लामो समयदेखि प्रलोभनमा पारेको खुलेको सागरमा मामा राजु पन्थीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदीप पन्थीका परिवारसँग कुरा गर्दा यी तीन बालकलाई भान्जा दाइ र समीरका बाबु बुद्धिबहादुर लम्सालले प्रलोभन देखाएको पाइएको बताए । बालकहरूले जान नमानेकाले अचेत बनाएर मुम्बई लगेको पाइएको उनले बताएका छन् ।

उनले भने, ‘प्रदीपको परिवारसँग भिडियो कलमा कुरा हुँदा परिवारसँग समीरको आफ्नै बुबा र भान्जा दाइले प्रलोभन देखाएको भनेका छन् । हामीहरू भारततर्फ जाँदैछौँ । उता पुगेपछि थप जानकारी दिनेछु ।’ यता बालकहरूले विद्यालय जानको लागि देबीनगर बुद्धनगर पुलमा पुगेको समयमा गाडीमा राखेपछि कुनै याद नभएको प्रतिक्रिया दिएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७