दार्चुला बाढी-पहिरो : बेपत्ता १० जना अझै भेटिएनन्, बाढी नघट्दा खोजीमा समस्या

बस्ती जोगाउन स्थानीयलाई साथ दिंदै मन्त्री बडू


२६ भाद्र २०७९, आईतवार
darchula

दार्चुला । शुक्रबार रातिदेखिको लगातारको वर्षा र बाढी पहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय (दार्चुला) का अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म पाँच जनाको ज्यान गएको छ भने १० जना हराइरहेका छन् ।

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय (दार्चुला) का डीएसपी प्रतीक विष्टले जानकारी दिएका छन् । ‘खोजीमा टोली खटिएको छ तर महाकाली नदीमा पानीको बहाव बढी हुनाले समस्या भएको छ’, उनले भने, ‘अहिले नदी किनारतिर बेपत्ताहरूको खोजी भइरहेको छ ।’

बेपत्ताको खोजीसँगै बाढीपहिरो प्रभावितहरूलाई राहत वितरण, तटबन्ध निर्माण गर्ने काम भइरहेको उनले बताए। बाढीपहिरोमा परेर महाकाली नगरपालिका-२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका-२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका-३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड-१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो ।

यस्तै महाकाली-३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली-२ की मानमती साहु, महाकाली-१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन् । बाढीपहिरोमा परेर घाइते भएका ८ जनामध्ये ३ जना डिस्चार्ज भएका छन् भने बाँकीको दार्चुला अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूणर् र ९ वटामा आंशिक क्षति भएको छ । प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १/१ कार र ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ ।
बस्ती जोगाउन स्थानीयलाई साथ दिदै मन्त्री बडू
यहाँको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका-४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिएका छन् । शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड वस्ती बिस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै छन् ।

शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका उनी लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहेका छन् । प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।

बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक रहेको मन्त्री बडूले बताए । उनले भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराँै ।’ नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौ घर तथा पसलमा क्षति हुने देखिन्छ ।

बाङाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताए । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गाजाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७