परराष्ट्रमन्त्री खड्काको आश्वासन : दसैंअघि नै तातोपानी नाका खुल्छ


२६ भाद्र २०७९, आईतवार
Narayan Khadga

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आज (आइतबार) मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिएका छन् । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए । दसैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए ।

मन्त्री खड्काले सोमवार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए ।

‘चाँडोभन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु । यो चापलाई जकिसक्दो चाँडो खुलाउनुपर्‍यो भनिरहेको छु’, मन्त्री खड्काले भने, ‘म तदारुकताका साथमा दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले, सकारात्मक नतिजा दिने हिसाबले पहल गर्नेछु । यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ ।’

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन् । ज्ञापनपत्र बुझाएपछि कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए ।

नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिगुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए । उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको व्यापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए ।

ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दसैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडोभन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

कांग्रेस नेता बस्नेतसहित हिमालपारी व्यापार संघका पदाधिकारीले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री डा. खड्कालाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७