चोलेन्द्र शमशेर जबराको बयानले नै अभियोग पुष्टि गरिरहेकाे छ : मीन विश्वकर्मा

‘यसअघि जस्तै आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लाञ्छना लगाउने कार्य जारी राख्नु भयो’


२६ भाद्र २०७९, आईतवार
min biswakarma

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथो पटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उनको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । तर, जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशमाथि लाञ्छना लगाउने कार्य आइतबार पनि जारी राखेको विश्वकर्माले बताए ।

‘यसअघि जस्तै आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लाञ्छना लगाउने कार्य जारी राख्नु भयो,’ उनले भने, ‘उहाँकै बयानले पनि अभियोग पुष्टि गरिरहेको छ ।’ यसअघिका तीन बैठकमा ११ वटा प्रश्न गरेको समितिले आइतबार जबरासँग २४ वटा प्रश्नको जवाफ खोजेको छ । बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७