तत्काल तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार
राष्ट्रपति भण्डारीले लीलाई भनिन्, ‘दुवै देश मिलेर सम्झौता कार्यान्वयनमा लैजानु पर्छ’

काठमाडौँ । नेपालसँगको दुईटै नाका सञ्चालन गर्न चीन तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारिसँग कुराकानी गरिसकेको जानकारी दिए । अध्यक्ष लीले भने, ‘आजै कुराकानी गरेको हो । तत्कालै नाकाहरु सुचारु हुन्छन् । त्यस बारेमा हाम्रो राजदूत (होउ यान्छी) ले नेपाल सरकारलाई जानकारी दिनेछिन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल-चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गरेकी छन् । शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा आएका अध्यक्ष लीलाई राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताएकी हुन् ।

‘चीन सरकारले कार्यान्वयनका सम्बन्धमा सद्भावपूर्वक विचार गर्ने छ,’ राष्ट्रपति भण्डारीलाई उदृत गर्दै प्रेसविज्ञ टीका ढकालले भने । राष्ट्रपतिले नेपाल एक चीन नीतिमा अडिग रहेको उल्लेख गर्दै चीनले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उनीहरुबीच बुधबार दिउँसो ४ देखि ५ बजेसम्म भेटवार्ता भएको थियो । अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्न सक्ने बताए ।