पर्यटकीय पदमार्ग निर्माण शुरु


२४ चैत्र २०७४, शनिबार
annapurna trek

 

बाबियाचौर, म्याग्दी, २४: चैत सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ ।

बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हुँदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ ।

नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पुर्‍याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो ।

बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताए । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ ।

सात झोेलुङ्गे पुल बन्दै

धौलागिरि र मालिका गाउँपालिकामा यसवर्ष रु दुई करोडभन्दा बढीको लागतमा सात झोलुङ्गे पुल निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, टिबीएसयु, गाउँपालिका र साझेदारी संस्था मिलन म्याग्दीको समन्वयमा मालिकामा चार र धौलागिरिमा तीन झोलुङ्गे पुल निर्माण शुरु भएको हो ।

धनमाने, जेल्टुङ र छहरी खोलामा कूल रु ९९ लाख २५ हजार ६५२ को लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण शुरु भएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए।

अध्यक्ष पुनका अनुसार कूल लागतको छ प्रतिशत बराबरको रु पाँच लाख ९३ हजार गाउँपालिकाले सम्पुरक कोषबाट उपलब्ध गराउने भएको छ । मालीका गाउँपालीको टाक्से, नुन्थला, दोबिल्ला र दाङखोलामा एक करोड २२ लाख ७८ हजार २९८ रुपैयाको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्ग्गे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई आवत जावतमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । आगामी असार महिना भन्दा अगावै पुल सम्पन्न गर्ने लक्ष्य सहित उपभोक्ता समितिले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७