चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु आज स्वदेश फर्किदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ । ली सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।
नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए ।
हिजो नेता लीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । नेपाल बसाइका क्रममा नेता लीले विभिन्न महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर समेत गरेका छन् । उनले लामो समयदेखि बन्द रहेका नेपाल-चीन सीमा नाका तत्काल खुलाउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।