चार पूर्व प्रधानन्यायाधीश पनि महाभियोग समितिको छलफलमा नजाने


३० भाद्र २०७९, बिहीबार
min bahadur rayamajhi anup raj sharma kalyan shrestha sushila karki

काठमाडौँ । सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरू पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको छलफलमा नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।

तर पूर्व प्रधानन्यायाधीशहरू उक्त छलफलमा जानु उपयुक्त नहुने भन्दै नजाने भएका हुन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्व प्रधानन्यायाधीश शर्माले बताएका छन् । जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि बुधबार अपराह्न साढे ४ बजे सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेको थियो ।

फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको छ । सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले फुलकोर्टको उक्त निणर्य बुधबार नै महाभियोग सिफारिस समितिलाई पठाएका छन् ।

समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाउने समितिको निणर्य थियो ।

निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए ।
बयानका क्रममा जबराले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि असान्दर्भिक प्रसङ्गमा मुछ्दै आरोपित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७