माथिल्लो अरुण जलविद्युत आयोजनामा ५३ अर्ब लगानी सुनिश्चित


३१ भाद्र २०७९, शुक्रबार
upper arun 2 scaled

काठमाडौँ । प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन् ।

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको यो परियोजनाको कुल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । आन्तरिक ऋण लगानी सम्बन्धी सम्झौतामा हिजो बेलुका हस्ताक्षर भएको हो । लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

upper arun 1

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको समझदारीअनुसार ऋण लगानी सम्बन्धी आवश्यक निणर्य हुनेछ । कुल १ हजार ६१ मेगावाट क्षमताको यो आयोजनामा कुल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वःपुँजी रहनेछ ।

आयोजनामा कुल ऋण एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । त्यसमा वैदेशिक ऋण ९७ अर्ब छ करोड रुपैयाँ बराबर रहनेछ । विश्व बैङ्क, युरोपियन इन्भेस्टमेन्ट बैङ्कलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको अर्ध जलाशय प्रकृतिको यो आयोजनाको अहिलेसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिने छ । कुल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर स्थानीय छोग्राकमा रहेको भूमिगत विद्युत् गृहमा खसालिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७