शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’


३१ भाद्र २०७९, शुक्रबार
art

पोखरा । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’ मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो । कोरोना महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । जसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो ।

अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पुर्‍याउने प्रयास थालिएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए । ‘पोखरा घुमौं र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि तथा हरेक जातिको आफ्नै गौरवपूणर् भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिए । उनका अनुसार आठ हजारमाथिका तीनवटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो ।

उनले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्‍याउने अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ । पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७