पाँच वर्षमा संसदको खर्च चार अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामै सकियो दुई अर्ब

सांसदहरुले लिए घर भाडा वापत २५ करोड ५७ लाख र इन्धनमा तीन करोड खर्च


३१ भाद्र २०७९, शुक्रबार
samsad 7

काठमाडौं । संघीय संसदको पाँच बर्षको कार्यकालमा चार अर्ब ५७ करोड ३२ लाख ४० हजार ११२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडालगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो ।

संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्तालगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १९२ रुपैयाँ खर्च भएको छ । संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कूल १ अर्ब ४ करोड १४ लाख ३६ हजार ४ सय ८१ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब १९ करोड ११ लाख ९७ हजार ७१९ रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब १८ करोड ६ लाख ८६ हजार ४०३ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ४ करोड २९ लाख ८८ हजार ४३१ रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा कूल १ अर्ब १६ करोड ९३ लाख १२ हजार ७८ रुपैयाँ खर्च भएको छ ।

सांसदहरुले बुझे घर भाडामा २५ करोड ५७ लाख
झण्डै साढे ४ वर्षमा सांसदहरुको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरुको आवास भाडा बापत यो रकम खर्च भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो ।

सांसदहरुको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरुले ९ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।

इन्धनमा ३ करोड खर्च
इन्धन शीर्षकमा ५ वर्षमा ३ करोड २ लाख २७ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा इन्धनका लागि २७ लाख ७३ हजार ६६६ रुपैयाँ खर्च भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ६९ लाख १६ हजार ३० रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ७० लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ५५ हजार ३२० रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४ लाख ८ हजार २ रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७