सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा


३१ भाद्र २०७९, शुक्रबार
28 Shares
karate
फाइल फोटो

महेन्द्रनगर । चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुन् सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा छन् ।

सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गरेका थिए । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहेका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुन् । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुगेका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गरेका हुन् । यसरी विसं २०४०/४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ ।

ncll 2

कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चित जस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षक समेत नभएको अवस्था छ ।

jagdamba.cement

पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लागेका छन् । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुन् । उनी जस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन ।

प्रिन्सको जिल्लामा बगेको कवर्ड हल

चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृह जिल्ला दार्चुलामा एउटा कभर्ड हलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल भएका दाहालको गृह जिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्ड हल बगाएको थियो ।

बाढी यता यहाँ खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको निकै अभाव रहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी बताउँछन् । ‘बाढीले कभर्डहल बगाएयता यहाँ खेल गतिविधि सञ्चालनका लागि संरचना बनेनन्’, अध्यक्ष बुढाथोकीले भन, ‘खेलाडीलाई प्रशिक्षण दिन सदरमुकाम बाहिरका क्षेत्र लैजानुपर्ने बाध्यता छ ।’

त्यसैगरी भलिबलका स्वयंसेवक प्रशिक्षक भोजराज जोशीले खेल मैदान र कभर्डहलका बारेमा पटक-पटक समस्या राख्दा पनि कसैले चासो नदेखाएको गुनासो पोखे । दार्चुलाबाट आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट एक सय ७२ खेलाडी छनोट भएका छन् ।

यहाँबाट भलिबल, कराते, फुटबल, हयाण्डबल, तेक्वान्दो, बुद्धिचाललगायतका खेलका खेलाडी छनोटमा परेका हुन् । उता सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि खेल संरचना, खेल प्रशिक्षकबिना खेलाडी खेल गतिविधिमा संलग्न छन् । बक्सिङकी अन्तर्राष्ट्रिय खेलाडी पुनम रावलको गृह जिल्ला हो बाजुरा ।

डडेल्धुरा खेलकुद पनि समस्याग्रसित

डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रङ्गशाला र खेलमैदान निर्माणधीन अवस्थामा छन् । तर बजेट अभावमा पूरा हुनसकेको छैन ।

लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुन सकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिका बाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहँुदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ ।

भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुःखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेल मैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिए ।

स्थानीय तहका अनुसार बजेटको कमी र भौगोलिक विकटताका कारणले रङ्गशाला वा खेलमैदान खेलाडीमुखी हुन नसकेको उनको भनाइ छ । ‘ढुङ्गा र खाल्डाखुल्डीसहितको मैदानमा खेलाडी लैजाँदा चोटपटक र शारीरिक अशक्त नै हुने डर रहन्छ’, खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बर भण्डारीले भने, ‘यहाँबाट खेलाडी भलिबल र क्रिकेटका राष्ट्रिय टिमबाट समेत खेल्दै छन् ।’

खेलाडीले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमितरूपमा खेल खेल्दा स्वस्थ भइने खेलकुदको मान्यता रहेको भए पनि खेलमैदान नहुँदा धेरैजसो प्रतियोगिता ओझेलमा परिरहेका जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन भण्डारीले बताए । ‘डडेल्धुरा पनि खेलाडीको उर्वरभूमि नै हो’, उनले भने, ‘खेलकुदको विकासका लागि सहयोग गर्न आवश्यक छ ।’

बझाङ : बगरमा खेल

तीन साताअघि बझाङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो ।

मैदान नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स-साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, ह्याण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेल मैदान अभाव छ ।

उनले भने, ‘प्रदेश छनोटका लागि बझाङबाट दुई सय तीन जना खेलाडीको माग थियो । तर पाँच सय ५० जनाको आवेदन परेको हुँदा उनीहरूलाई विभिन्न विद्यालयका चौर र बगर प्रयोग गरेर खेलाडीलाई प्रतिस्पर्धा गराउँदै छनोट गरेका हौँ ।’

खेल मैदान निर्माणका लागि स्थानीय निकायसँग पनि सहकार्य भइरहेको अध्यक्ष रोकायाले बताए । ‘स्थानीय निकाय तथा अन्य निकायसँग पनि खेलमैदानका लागि समन्वय गरिरहेका छौँ । उहाँहरूले हुन्छ त भन्नुभएको छ तर अहिलेसम्म खेलमैदानका लागि गहिरिएर चासो भने कसैले पनि दिएका छैनन्’, उनले भने ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशका लागि बझाङबाट १७ विधामा एक सय १४ पुरूष र ८९ महिला छनोट भएका छन् । बझाङमा करातेबाहेक कुनै खेलमा पनि प्रशिक्षक छैनन् । ‘यहाँ करातेबाहेक कुनै खेलका लागि पनि प्रशिक्षक छैनन् । अरू खेलका लागि क्लबहरूबाट स्वयंसेवकका रूपमा सहयोग गरिदिनु हुन्छ ।’

विगतमा १२ खेल जतिमात्रै खेलाइन्थे भने यसपटक १८ विधामा खेलाडी छनोट गरिएको उनरण्लडे बताए । अध्यक्ष रोकायाका अनुसार खेलमैदान नहुँदा खेलकुद विकास समितिले जिल्ला क्रिकेट सङ्घको एकेडेमी, सत्यवादी मावि भोपुर, जालपा मावि देवल, ब्याडमिन्टन हल, क्रिकेट महिला सङ्घ एकेडेमी, जिल्ला प्रशासन कार्यालयको आँगन, फुलकन्ट्याक्ट कराते केडब्ल्यूएफ क्योकुसिन कराते प्रशिक्षण हल, जिल्ला खेलकुद विकास समितिको कार्यालय अगाडि खेलाइने गरिएको छ ।

बैतडीमा बिना प्रशिक्षक खेलाडी प्रशिक्षणमा

बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका एक सय ५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्ने छन् । तर जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् ।

यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेल मैदान छ, न कभर्ड हल नै ।

खेल मैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताए । उनले भने, ‘खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।’

कराते, भारोत्तोलन, ब्याडमिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराते खेलाडी नरेन्द्र कार्कीले बताए । उनले भने, ‘यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छनोट भएका छौँ तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुने गरेको छ ।’

प्रशिक्षक बिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने गरेको खेलाडी दिनेश ठगुन्नाले बताए । बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी भने खेल मैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउँछन् । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनु परेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ ।

उनले भने, ‘खेल मैदान नहुँदा सडक तथा विद्यालयका स-साना खेलमैदानमा छनोट खल खेलाउनु परेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसँग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेको छैन ।’

साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उनले भने, ‘जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैड पूर्वखेलाडी भएकाले प्रशिक्षक अभावमा आफैँले प्रशिक्षक बनेर धेरै खेल खेलाउने गरेको छु ।’ प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटक-पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएकोे भण्डारीको दुःखेसो छ ।

पहाडी जिल्लामा प्रशिक्षक आउन आनाकानी गर्ने गरेका र उनीहरूलाई तराईभन्दा पहाडमा सेवा-सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ ।

बहुउद्देश्यीय कभर्डहल कञ्चनपुरमा निर्माण हुने

कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताए । ‘यहाँ विभिन्न खेलका स-साना टहराहरू मात्रै भए’, मन्त्री रावलले भने, ‘इन्डोर खेल सञ्चालनलाई करिब रु २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।’

कञ्चनपुरमा हाल नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आठ खेलको प्रदेशस्तरीय छनोट शनिबारदेखि हँुदैछ । यहाँ भलिबल, कबड्डी, कराते, कुस्तीलगायतका खेलको प्रदेशस्तरीय छनोट हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कञ्चनपुरबाट मात्रै ३१ खेलका चार सयभन्दा बढी खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भइरहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७