कागती खेतीमा कृषकको आकर्षण


३१ भाद्र २०७९, शुक्रबार
KAGATI NAWALPUR scaled

नवलपरासी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको संख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ थियो । ‘कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्’, प्रमुख शर्माले भने, ‘तर लगाएको तीन-चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।’

उनका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः संख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताए । जिल्लामा सामूहिकरुपमा १५ वटा समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उनले जानकारी दिए । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसान समेत रहेका छन् ।

उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्र समेत विस्तार भएको छ ।

इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ ।

कागती खेतीबाट वार्षिक छ लाख कमाइ

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका- ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उनले रु छ लाख आम्दानी गरे । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताए ।

‘गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ’, उनले भने, ‘कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो’, “बाख्रा पनि पालँे तर भने जस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ’, केसीले भने ।

उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उनको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ । ‘बेच्न समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ’, केसीले भने ।

उनले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गरेका हुन् । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उनको भनाइ थियो । ‘परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु । कागतीको बिरुवा बेचेर समेत राम्रो आम्दानी हुने गरेको छ’, केसीले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७