मोरङमा किशोरीमाथि सामुहिक बलात्कार प्रकरण : आरोपित बस्नेत आठ वर्षपछि पक्राउ


३१ भाद्र २०७९, शुक्रबार
rape 1

मोरङ । मोरङको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कारको घटनामा संलग्न एक जना पक्राउ आठ वर्षपछि परेका छन् ।
किशोरीमाथि सामुहिक बलात्कार भएको आठ वर्षपछि केराबारी गाउँपालिका-८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेतलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । बस्नेतसहित तीन जनाले १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्कदै गरेकी किशोरीलाई २०७१ साल जेठ ९ गते तीन जनाले मोटरसाइकलमा राखी जंगलमा पुर्‍याएर बलात्कार गरेका थिए । घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परे । दुई जना फरार थिए । घटनाको आठ वर्षपछि बस्नेत पक्राउ परेका छन् ।

अर्का एक जना अझै फरार छन् । सामुहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते तीन जनालाई नै जनही १३ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
अदालतले दोषी ठहर गरे पनि घटनामा संलग्न दुई जना कैद तथा जरिवाना भुक्तान नगरिकन फरार थिए । बस्नेतलाई भने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएको टोलीले केराबारीबाट पक्राउ गरेको हो ।

बस्नेतलाई पक्राउ गरेर बिहीबार पेश गरिएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझैसम्म फरार रहेका एक जना प्रतिवादीको खोजी जारी राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७