कांग्रेसको कारबाहीमा परेकाहरुको स्वतन्त्र उम्मेदवारको तयारी


३१ भाद्र २०७९, शुक्रबार
mahotari

महोत्तरी । गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् ।

महोत्तरी क्षेत्र न.१ क मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र घोडा छापबाट जितेका क्षेत्री पक्षले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल थालेका हुन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेसले नगर सभापति युवराज पोखरेल, प्रल्हाद क्षेत्रीसहितका नेतालाई कारबाही गरेको थियो ।

तर, अहिलेसम्म कारबाही फुकुवा नगरेपछि उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा समेत घोडा छापबाट नै आफ्नो उम्मेदवार बनाउने र प्रतिनिधिसभामा कुनै पाटीलाई सर्तसहित सहयोग गर्ने तयारी गरेका क्षेत्री निकट विनोद ढुंगेलले बताए ।

निर्वाचन क्षेत्र न. १ मा अहिले पनि आफुहरुको मत बढी रहेको स्वतन्त्र पक्षधरहरुले दाबी गरेका छन् । ‘हामी बैठक बसेर प्रदेशमा उम्मेदवार उठाउँछौ र संघमा परिस्थिति हेरेर सहयोग गर्छौं,’ नेता ढुंगेलले भने ।

यद्यपि, कांग्रेसले कारबाही फुकुवा गरेमा भने पार्टीको निर्देशनमा लचिलो बन्ने क्षेत्री पक्षधरले संकेत गरेका छन । जिल्ला सभापति नागेश्वर यादवका अनुसार कारवाहीमा परेका नेता, कार्यकर्ताहरुलाई फुकुवा गर्न पहल भइरहेको छ । ‘सभापति शेरबहादुर देउवासँग पनि कुरा भइसकेको छ । कारबाही फुकुवाका लागि सभापतिलाई पटकपटक भेटेको पनि छु । आशा गरौ छिट्टै कारबाही फुकुवा हुनेछ,’ सभापति यादवले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७