भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा


३१ भाद्र २०७९, शुक्रबार
nepal football 1

काठमाडौं । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

खेलको १८औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाएकी थिइन्। ३०औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४-० ले अगाडि रह्यो ।

पूरा समय भुटामाथि हाबी भएको बंगलादेशले दोस्रो हाफमा थप ४ गोल गर्‍यो। खेलको ५४औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाएकी थिइन्। खेलको ५७औं मिनेटमा प्रभिन, ८७औं मिनेटमा खातुन र खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाउन सफल भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७