आर्मीलाई हराउँदै पुलिसलाई स्वर्ण पदक


१ आश्विन २०७९, शनिबार
police 1

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको छ । पुरुष क्रिकेटको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्‍यो । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको आर्मीले वर्षाका कारण ८-८ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई १ सय ३ रन बनायो ।

कप्तान विनोद भण्डारीले आर्मीबाट सर्वाधिक ४० रन बनाए । उनले १४ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८, कुशल मल्लले १३, भीम सार्कीले ११, सोमपाल कामीले ३ रन बनाए । अर्जुन साउद र सोनु तामाङले खाता खोल्न सकेनन् । पुलिसका ललित राजवंशी र गुलशन झाले २-२ तथा रशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

कुशल भुर्तेल र सुनील धमलाले पहिलो विकेटमा ३३ बलभित्र ९२ रन जोडेपछि पुलिसले ७ बलअगाडि लक्ष्य पार गर्‍यो । प्लेयर अफ द फाइनल कुशलले १९ बल खेल्दा ३ चौका र ६ छक्कासहित ५१ रन बनाए । सुनील १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे ।

दीपेन्द्र ४ रनमा आउट भए पनि आरिफले सामना गरेको पहिलो बलमै विजयी छक्का प्रहार गरे ।
वर्षाका कारण सुदूरपश्चिम र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको तेस्रो स्थानको खेल हुन सकेन । यस्तो अवस्थामा टसको निणर्यबाट सुदूरपश्चिमले कांस्य पदक हात पार्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७