नहर बग्दा खोटाङकै पहिलो लघु जलविद्युत आयोजना अवरुद्ध


१ आश्विन २०७९, शनिबार
badhi

खोटाङ । बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघु जलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो ।

२०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघु जलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो ।

कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दैआएका थिए । तर राष्ट्रिय प्रशारणलाइन विस्तारका कारण हाल सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ ।

अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टीमेटका आधारमा जलविद्युत आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाई क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दै आएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दामाथिबाट कमेरे माटो बगेर बाढीकारुपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७