कैलाली-कञ्चनपुरका बस्तीमा बाढी पस्दा सयौं घर डुबानमा

सशस्त्र प्रहरीको टोलीले उद्धार गर्दै


१ आश्विन २०७९, शनिबार
dodha nadi EPUlcw4B3H

कञ्चनपुर । शुक्रबारदेखिको लगातारको वर्षाले कैलाली र कञ्चनपुरका बस्तीका सयाैं घरहरु डुबानमा परेका छन् । पूर्व-पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ । ‘३५ जतिलाई पारी जङ्गलको उच्च भागमा सारेका छौं भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौं’, डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भने, ‘वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।’

स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए । वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने । यता आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो ।

त्यसैगरी कृष्णपुर नगरपालिका-२ बङ्कस्थित खुला बस्ती पूरै डुबानमा रहेको त्यहाँका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । ‘दुई सय परिवार रहेको बस्तीमा पानी पसेको छ’, उनले भने, ‘पीडितलाई उद्धार गरी जनउत्थान आधारभूत विद्यालयमा राखिएको छ ।’ वनहरा नदीको बहाव बढेपछि बस्तीमा पानी पसेकाले आफूसहित स्थानीयवासी राति उद्धारमा खटिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७