प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, आज राति १२ बजे कार्यकाल सकिँदै

७५ विधेयक पारित हुँदा ४९ अध्यादेश, २७ विधेयक निस्क्रिय हुँदै


१ आश्विन २०७९, शनिबार
Parliment house samsad bhawans

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज (शनिबार) राति १२ बजे सकिँदै छ । २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।

७५ विधेयक पारित हुँदा ४९ अध्यादेश, २७ विधेयक निस्क्रिय हुँदै

प्रतिनिधिसभाको उतारचढावपूर्ण पाँच वर्षे कार्यकाल पूरा भएको छ । कानुन बनाउन जनताबाट निर्वाचित सभाले ७५ विधेयक पारित गर्दा यो बीचमा सरकारले तजबिज चलाउन ४९ अध्यादेश ल्याएको छ । दुई पटक विघटन र नौ महिना अवरोध झेलेको प्रतिनिधिसभाको कार्यकाल सकिँदा २७ विधेयक निस्क्रिय हुने भएका छन् । यही अवधिमा सांसदहरूको सेवा सुविधाका लागि ढुकुटीबाट तीन अर्ब ८० करोड खर्च भएको छ ।

सरकारले संसद्को ११ औं अधिवेशन शनिबार मध्यरातिदेखि अन्त्य गर्न सिफारिस गरिसकेको छ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । सरकारमा शेरबहादुर देउवाको नेतृत्वबाट शुरु भएको प्रतिनिधिसभाको कार्यकाल उनकै नेतृत्वमा टुंगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७