महाभियोग सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने

३ बजेका लागि बोलाइयो समितिको वैठक


१ आश्विन २०७९, शनिबार
cholendra
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अनुसन्धान प्रक्रिया सकेको छ । समितिका सभापति रामबहादुर विष्टले जबराको बयान, बयानमा हस्ताक्षर प्रतिप्रश्नको जवाफ दिने काम सकिएको जानकारी दिए ।

शनिबार नै प्रतिवेदनलाई अन्तिम रूप दिइने पनि सभापति विष्टले जनाएका छन् । विष्टले भने, ‘सबै अनुसन्धान गरियो प्रतिवेदन तयार पार्न बाँकी छ । प्रतिवेदन आजै बुझाइन्छ । मस्यौदा तयार गरेर बाँडिएको छ । ३ बजे बस्ने बैठकमा अन्तिम रूप दिइन्छ ।’
सभापति विष्टका अनुसार समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई दिइनेछ ।

प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । नेपालको संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधिसभाको यो कार्यकालमा नटुंगिएमा नयाँ आउने प्रतिनिधिसभाले महाभियोग प्रक्रिया टुंग्याउने तयारी छ ।

संविधानको धारा १०१ को उपधारा ६ मा ‘महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य संवैधानिक निकायका पदाधिकारीले त्यस्तो कारबाही टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । संविधानको यो व्यवस्थाअनुसार महाभियोगको कारबाहीलाई प्रतिनिधिसभाले टुंगो नलगाएसम्म जबरा काममा फर्कन नपाउने विष्टले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७