अछाम पहिरो अपडेट : मृत्तकको संख्या १७ पुग्यो, ६ जना बेपत्ता, ११ घाइतेको उद्धार

दार्चुलाका दुई पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग


१ आश्विन २०७९, शनिबार
achham11 pganFlHQ6w

अछाम । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका-६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए । ‘यकिन विवरण आइसकेको छैन । मृतकको संख्या बढ्न सक्छ’, उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।’

त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवा समेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका-३, शुक्लाफाँटा नगरपालिका-१२, बेलौरी नगरपालिका-५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ । प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । ‘केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्’, उनले भने, ‘बाढीले शुक्लाफाँटा-१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।’ जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । ‘गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ ।’

त्यसैगरी वर्षापछि आएको बाढीका कारण कैलालीको चुरे गाउँपालिका-६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं ५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ ।

कैलालीको भजनी नगरपालिका-८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । वडा नं ५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ ।

दार्चुलाका दुई पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

पहाडी जिल्ला दार्चुलामा गत भदौ २४ गते वर्षासँगै पहिराबाट क्षतविक्षत भएका महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यी दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको प्रजिअ दीर्घराज उपाध्यायले बताए ।

वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो । विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताए । बाढी पहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु भएको थियो, भने १० जना बेपत्ता छन् ।

17

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७