अछामका बाढी-पहिरो पीडितलाई तत्काल राहत रद्द उद्धारको व्यवस्था मिलाइयोस् : भीम रावल


१ आश्विन २०७९, शनिबार
Bhim Rawal

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृह जिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज (शनिबार) को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १७ जना भन्दा बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् । त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए ।

नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ । त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु ।’

उनले थपे, ‘स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्धारका लागि लत्ताकपडा, भाडाकुँडा जति आवश्यक पर्ने हो, त्यहाँ पर्याप्त छैन । त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनु भएको छ । उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७