जबराले सर्वोच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गरे : बार अध्यक्ष घिमिरे

‘सांसदको कार्यकाल मात्र सकिएको हो, संसद सकिएको होइन’


२ आश्विन २०७९, आईतवार
gopalkrishna ghimire

काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् ।

आज (आइतवार) सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरिले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । उनले संसद्को कार्यकाल सकिएको नभइ सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै जबराको महाअभियोगको सम्बन्धमा आउँदो संसद्ले प्रष्ट पार्ने बताए । महाअभियोग सिफारिस समितिले संसद्लाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको उनको भनाइ छ ।

उनले भने, ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ (जबरा) फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरूको कार्यकाल सकिएको हो । संसद् सकिएको होइन । संसद् सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद् अविछिन्न उत्तराधिकारवाला संस्था हो । सांसदहरूको कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडि बढिसक्यो, उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब आउँदो संसद्ले त्यसलाई प्रष्ट गर्नेछ ।’

अध्यक्ष घिमिरिले बारले अहिलेसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे । निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७