महाभियोग प्रक्रिया नटुंगिएसम्म चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन : पूर्व बार अध्यक्ष श्रेष्ठ


२ आश्विन २०७९, आईतवार
Chandeshwor Shrestha

काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भईरहेका बेला आइतबार सर्वोच्चको मूलगेटमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको उनले उल्लेख गरे ।

‘संविधान र कानुनले महाअभियुक्तलाई कारबाही सुरुवात भईसकेपछि जबसम्म त्यसको टुंगो लाग्दैन, तबसम्म त्यो महाअभियुक्त महाअभियोगको प्रस्तावमा छलफल चलेर टुंगोमा पुग्दैन। तबसम्म उसले काम गर्न नपाउने कुरा संविधानले नै भनेको छ । त्यसकारण ऊ सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको हैसियतले सर्वोच्च अदालतमा आउन सक्दैन,’ उनले भने ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले महाभियोग सिफारिस समितिले संसदमा बुझाएको महाअभियोगको छानवीनको प्रतिवेदन नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७