साढे २२ लाखसहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२ आश्विन २०७९, आईतवार
pramod nepal

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख ५० हजार रुपैयाँ पनि बरामद भएको थियो । उनीसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा १ को ङ बमोजिम कैद सजाय हुन मागदाबी गरिएको छ ।

अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ । प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिएवापत बीबी एयरवेजका सीईओबाट सापटी लिनु भ्रष्टाचारजन्य काम नै भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काम गरिदिएवापत रकम सापटी दिनु भ्रष्ट्राचार मानिने अख्तियारको दावी छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७