सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै


४ आश्विन २०७९, मंगलवार
matihani

महोत्तरी । चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो ।

त्रेतायुगमा राम-सीताको विवाह हुँदा वेदी (यज्ञस्थल) बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ । त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूर्ण हिन्दूहरूको आस्था, भक्ति र दर्शनीयस्थल रहँदै आएको छ । अवधबाट राजा दशरथ जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएका जनश्रुति मटिहानीमा सुनिन्छन् ।

धार्मिक महत्वको यो पौराणिकस्थलमा बितेको सातामै कतिपय योजना सम्पन्न भएका छन् । यसैगरी कतिपय योजनाको निर्माण काम थालिएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक द्वार निर्माण सम्पन्न भएर शुभारम्भ भएको छ । यसैगरी मटिहानी-५ स्थित गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुङ्गे पुल बनेको छ ।

मटिहानी-३ झिझाखोलामा आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको र मटिहानी-८ र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पाँच मिटर चौडाइ र ४५ मिटर लम्बाइको पक्की पुल निर्माण थालिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएका प्रवेशद्वार रु २८ लाख र झोलुङ्गे पुल रु ४५ लाखको लागतमा सम्पन्न भएका हुन् । त्यसैगरी झिझाखोला पुल र बिग्ही पुल क्रमशः रु ३५ र ६५ लाखको लागतमा निर्माण थालिएका नगरपालिकाका इञ्जीनियर विमलेश साहले जानकारी दिए ।

यसअघि नै मुलुकभरिकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेका छन् । मटिहानी-जनकपुर (रामजानकी) सडक र मटिहानी-जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको सांस्कृतिक र धार्मिक महत्ता उजागर गरेका बताइएको छ ।

‘हामीसँग भएको मुख्य कुरा नै यस ठाउँको धार्मिक र सांस्कृतिक परिचय हो, मटिहानीको विकासको आधार धार्मिक पर्यटनमै खोजिनुपर्छ र अहिले यी कामले प्राथमिकता पाएका छन्’, मटिहानी-७ का वडाध्यक्ष जितनारायण माझी भन्छन्, ‘पछिल्ला पाँच वर्षयताका विकास पूर्वाधारका काममा धार्मिक महत्वका कामले महत्व पाएका छन् ।’ मटिहानीमा गत वर्षमात्रै अत्याधुनिक रङ्गशाला निर्माण सम्पन्न भएको थियो ।

मटिहानीको धार्मिक परिचयको कुरा उप्कनासाथ यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन् । आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँध्नुभएको हुँदा यहाँ दुवै परम्पराका चाडपर्व एकापसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका बासिन्दा शिक्षा तथा संस्कृतिविद् चन्देश्वर साह बताउँछन् ।

‘लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन्, पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ’, उनी भन्छन्, ‘यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू-इस्लाम धर्मावलम्बी सराबरी हुने गर्छन् ।’ आफ्नो ठाउँका मुख्य पर्व साउने झुला महोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैँ, तिहार, छठ, मुहर्रम, इद-उल-फित्र, सवेबरात र इद-उल-जोहामा सबै समानरूपले उत्सवमा झुम्ने गरेको उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको यो ठाउँका सीमा वारिपारिका मटिहानी र मधवापुर बजार एकापसमा अभिन्न रुपले जोडिएका छन् । दोहोरो सामाजिक सम्बन्धले दुवैतर्फका नागरिकका दुःखसुखमा दुवैतिरका नागरिक सरिक हुने गर्छन् । यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधना केन्द्र पनि रहेको छ । यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र माहामुनि याज्ञवल्क्य र भगवान् लक्ष्मीनारायणका नाउँमा स्थापित/सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) संस्कृत भाषा र साहित्यको साधनास्थल रहेका छन् । विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन/अध्यापन हुने गरेको छ ।

गत मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडाननले पनि पढेको संस्कृत विद्यालय परिसरको अवलोकन गरेपछि यो ठाउँ शैक्षिक पर्यटनको पनि केन्द्र बनेको छ । विद्यालयमा देश देशावरका विद्वानको आगमन बाक्लिएको प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् । आफ्नो नगरको धार्मिक, शैक्षिक र सांस्कृतिक परिचयको विस्तार र प्रवद्र्धनले नयाँ सम्भावनाका द्वार खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । आफ्नो नेतृत्वको जनप्रतिनिधि टिम यसै दिशामा दत्तचित्तसाथ अघि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७