स्याङ्जा, मकवानपुर र सर्लाहीमा चट्याङ लागेर तीन जनाको मृत्यु, चार घाइते


४ आश्विन २०७९, मंगलवार
chatyang

मकवानपुर । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरु समेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

यस्तै स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङका कारण स्याङ्जाको आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षीय किसान बर्देवाको मृत्यु भएको हो । घरमै सुतिरहेको अवस्थामा बर्देवाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । यस्तै सर्लाहीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको हो । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।

सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर-१२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७