माेहम्मद हत्या काण्ड : घटना अनुसन्धान गर्न विशेष समिति गठन


४ आश्विन २०७९, मंगलवार
hatya2022 09 20 06 19 21

काठमाडौं । काठमाडौंको गोठाटारमा सम्साँझै गोली प्रहार गरी मारिएका सलार्ही हरिवन नपा-२ का ५५ वर्षीय लाल माेहम्मद भनिने मोहम्मद दर्जी अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

समितिको संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई रहेका छन् । लाल माेहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्र धानुकले बताए ।

उनले भने, ‘लाल माेहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । समितिले घटनाको विशेष अनुसन्धान गर्नेछ । नयाँ तथ्य पछि खुल्दै जालान् ।’ मोहम्मदको सोमबार साँझ अपरिचित आक्रमणकारीले लखेटी लखेटी गोली हानी फरार भएका थिए । उनको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
घटनाको करिब २४ घण्टा बितिसक्दा पनि प्रहरीले अनुसन्धान उल्लेख्य प्रगति गर्न सकेको छैन । अनुसन्धान जटिल देखिएको हुँदा प्रहरीले छानबिन समिति गठन गरेको हो ।

माेहम्मद गोठाटारको कृष्णमन्दिर नजिकैको एभेन्जर इन्टरप्राइजेज -गार्मेन्ट) का सञ्चालक हुन् । उनी माथि गोली प्रहार गार्मेन्टकै अगाडि भएको थियो । हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर ती व्यक्तिहरुको पहिचान भने भइनसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

उक्त घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । बा ६ च ५१५२ नम्बरको कारमा साँझ पौने ७ बजेतिर पसलमा आइपुगेका माेहम्मदलाई कारबाट झर्नासाथ गोली प्रहार भएको फुटेजमा देखिन्छ । रातो लुगा लगाएका व्यक्तिले खेदिखेदि माेहम्मदलाई गोली प्रहार गर्छन् । आफूमाथि गोली हान्न थालेपछि माेहम्मद कारमा छलिँदै भाग्न खोज्छन् । तर उनलाई पटक पटक गोली लाग्छ ।

माेहम्मदलाई गोली प्रहार गरेको उनकी छोरीले थाहा पाएपछि घरको तलामाथिबाटै हामफाल्छिन् । उनी घटनास्थलमा पुगे पनि सुटरले गोली प्रहार गरेर भागिसक्छन् । त्यसपछि उनले बुबालाई समात्दै घरतर्फ लैजान्छिन् । गोली प्रहार गर्ने व्यक्तिहरु भने मोटरसाइकलमा फरार हुन्छन् ।

माेहम्मद एक जना ग्राहकको गाडीमा प्लाष्टिक किन्न गएर फर्किएका थिए । तर ती कारवाला ग्राहककै अगाडि उनीमाथि गोली प्रहार भयो । गोली लागेर गम्भीर घाइते माेहम्मदलाई सुरुमा शंखरापुर अस्पताल नारायणटार जोरपाटी लगिएको थियो । तर अवस्था गम्भीर भएपछि त्यहाँबाट शिक्षण अस्पताल लगिएको थियो । अस्पतालले सोमबार राति नै मृत घोषणा गरेको थियो ।

घटना लगतै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसर र विशेष व्यूरोले पनि अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको मेड इन यूएसए लेखेको एक थान पेस्तोल, एउटा म्यागजिन, चार राउण्ड गोली र चार वटा खोका घटनास्थलबाट बरामद भएको छ ।

एक साता पहिले नै हत्याको प्रयास
माेहम्मदको हत्याको कारण उनको विगतको आपराधिक पृष्ठभूमि रहेको प्रहरीको अनुमान छ । तर हत्यामा संलग्नता भने दुई समूहमा प्रहरीको आशंका छ । पहिलो उनकै समूह र दोस्रो भारतीय सुटर । उनको हत्या एक साता पहिले नै गर्ने प्रयास गरेको प्रहरी स्रोतको दाबी छ । उपत्यका अनुसन्धान कार्यालय स्रोतका अनुसार माेहम्मदले आफ्नो हत्या प्रयास गरिएको भन्दै काँडाघारी प्रहरी प्रभागमा जानकारी गराएका थिए ।

उनले आफ्नो सुरक्षा माग गरे पनि प्रहरीले भने त्यसलाई गम्भीर रुपमा नलिएको देखिएको छ । माेहम्मद पटक-पटक यस्ता घटनामा जोडिएका व्यक्ति हुन् । हत्याकै आरोपमा उनलाई जन्म कैदको फैसला पनि भएको थियो। ६ वर्ष पहिले उनी राष्ट्रपतिबाट कैद छुट पाएर जेलमुक्त भएका थिए । २०७३ को गणतन्त्र दिवशमा कैद छुट पाएर फर्किए पनि उनी विगतकै लफडामा पर्दै आएका थिए ।

विगतमा उनले जुन समूहसँग मिलेर आपराधिक कर्म गरेका थिए पछिल्लो समय उनको त्यही समूहसँग लफडा चलिरहेको थियो । समूहका अन्य व्यक्तिलाई माेहम्मदले फसाएको आरोप उनीमाथि त्यो समूहले लगाएको थियो । त्यहि भएर पछिल्लो समय उनी आफ्नै समूहको टार्गेटमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७