राजेन्द्र राईको श्वेतपत्र : जनताको सेवक भएँ, धनकुटामा ३० अर्व ६१ करोडभन्दा बढी बजेट ल्याएँ


४ आश्विन २०७९, मंगलवार
Rajendra Rai 2

धनकुटा : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्यको रुपमा आफूले गरेको काम सूची सार्वजनिक गरेका छन् । सांसद राईले गएको ५ वर्ष आफू धनकुटेली जनताहरुको सेवकको रुपमा अहरोत्रा खटेको दाबी गरेका छन् ।

मंगलबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा राईले गत ५ वर्षमा धनकुटाको विकासको लागि आफ्नो पहलमा ३० अर्व ६१ करोड ५५ लाख ५० हजार रुपियाँ ल्याएको बताए । सांसदहरुको मुख्य काम कानुन निर्माण र नीति निर्धारण भएपनि जनताको अपेक्षा जोडिएको विकासको काममा पनि आफू उत्तिकै सक्रिय भएको उनले पत्रकार सम्मेलनमा बताए । राईले भने, ‘कतिपय नेताहरु मञ्चमा वा संसदको पोडियम मात्रै कुरा गर्ने गरेको तथ्यहरु हामीले देखेका छौं । तर मैले धनकुटाको समृद्धिको लागि हरेक मन्त्रालयको कोठाचोटा चहारेको छु । मन्त्रालयको सहयोगीदेखि सचिव, मन्त्री र प्रधानमन्त्रीसँग समन्वय गरेको छु । धनकुटाको विकास र समृद्धिको निम्ती सिंहदरबारमा हस्तक्षेपकारी र समन्वयकारी भूमिकामा अहोरात्र खटेको छु ।’

सांसद राईले ठुला नेताहरुले भन्दा आफूले बढी बजेट लगेको पनि दाबी गरे । उनले भने, ‘हामीले मान्ने गरेको वा भन्ने गरेका ठुला नेताहरुको निर्वाचन क्षेत्रलाई तुलनात्मक अध्ययन गरेर हेर्नुहोस्, तुलनात्मक आधारमा हामीले धेरै बजेट ल्याउन सफल भएका छौं । यस बाहेक धनकुटाको सबै स्थानीय तहहरुमा अधिकतम् बजेट विनियोजन गराउनको निम्ती मैले निरन्तर पहलकदमी र नेतृत्व लिएको छु ।’

प्रेस विज्ञप्ति


प्रिय सञ्चारकर्मी साथीहरु,
आदरणीय धनकुटेली जनताहरुले मलाई आफ्नो प्रतिनिधिको रुपमा जिम्मेवारी दिनु भएको ५ वर्ष पुरा हुन लागेको छ । २१ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अथाह माया र विश्वासको साथ मलाई धनकुटेली जनताले प्रतिनिधिसभामा विजयी गराउनु भएको थियो । वाम गठबन्धनको तर्फबाट जनताको प्रिय पार्टी नेकपा (एमाले)को सूर्य चिन्ह लिएर जनताको घरदैलोमा पुग्दै गर्दा उम्मेदवारको रुपमा मैले प्रतिबद्धता र संकल्प जारी गरेका थिएँ । जनतासँग बाँचाहरु गरेको थिएँ । मैले निर्वाचनको क्रममा भनेका थिए, ‘हामीलाई विजयी गराउनुहोस् । तपाईंको मतलाई खेर जान दिनेछैन । धनकुटे र धनकुटेलीको मतको शिर झुक्ने काम गर्नेछैन । मलाई तपाईकाे एक मत दिनुहोस्, म तपाईकाे निम्ति जीन्दगीभर लागिरहने छु । लडिरहने छु ।’
हाम्रो पार्टीको विचार हाम्रो प्रतिबद्धता र विश्वासको जगमा सूर्य चिन्ह्रमा धनुटेली जनताहरुले अमूल्य मतदान गरी प्रतिनिधिसभा सदस्यमा मलाई र प्रदेशसभा सदस्यमा धनकुटा ‘क’ बाट कमरेड निरन राई र धनकुटा ‘ख’बाट कमरेड ईन्द्रमणि पराजुलीलाई विजयी गराउनुभएको थियो । ५ वर्षे कार्यकाल पुरा हुदैं गर्दा मैले जारी गरेका ती प्रतिबद्धता र संकल्प पुरा भयो की भएन ? खाएका बाँचा र कसमको कसीमा मेरो स्थान जनताकोवीचमा कहाँ हुनेछ ? त्यसको जानकारी जनतालाई दिनु मेरो जिम्मेवारी हो । त्यही जिम्मेवारीबोधका साथ आज तपाईहरु मार्फत आदरणीय धनकुटेली जनताहरुप्रति आभार प्रकट गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो । म पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।


प्रिय सञ्चारकर्मी साथीहरु,
१) यहाँहरुलाई थाहा छ, जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च संस्था संसदको प्रमुख काम कानुन निर्माण हो । संविधानसभाद्धारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा सदस्यको रुपमा म निर्वाचित भएको थिएँ । त्यस कारण पनि हाम्रो पहिलो दायित्व र जिम्मेवारी कानुन निर्माण थियो । यसविचमा संविधानमै तोकिए बमोजिम मौलिक हकको कार्यान्वयनका लागि आवश्यक काननुहरू निर्माण भएका छन् । संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनका निम्ती आबश्यक कानुनहरु निर्माण भएका छन् । स्थानीय तहलाई सबल, सक्षम एवं क्रियाशील बनाउन वित्तीय, प्रशासनिक र कानुनी प्रबन्ध गरिएका छन् । संघ, प्रदेश र स्थानीय तहको आबश्यक सबै कानुन निर्माण भएका छन् । हाम्रो अधिकांस समय कानुन निर्माणमा बितेको छ । सांसदहरुको मुख्य काम कानुन निर्माण र नीति निर्धारण भएपनि जनताको अपेक्षा विकाससँगै जोडिएको हुन्छ ।

२) निर्वाचनको क्रममा मैले जनतासँग भनेका थिए, ‘हरेक धनकुटेली जनताहरुको सुख–दुःखसँग नजिक छु । त्यसैले त जिन्दगीको यात्रामा जहाँ पुगे पनि धनकुटा बोकेरै हिँड्छु । जनताको सेवक भएर काम गर्छु ।’ यहाँहरुलाई थाहा छ, नेताको मानक शासक जस्तो बनाइएको छ । जनतासँग दुरी राख्ने टाढाको भयङ्गकर कुनै विशेष प्राणी जस्तो । तर म यहाँहरुको विचमा गर्वका साथ भन्छु– मैले यो ५ वर्ष जनताको सेवकको रुपमा अहोरात्र काम गरेँ । सकेसम्म र सम्भव भएसम्म धनकुटेली जनताको हरेक सुखदुःखमा एकजना साथीको रुपमा सामेल भएको छु । ‘नेता शासक होइनन् जनताको सेवक हो’ भन्ने मान्यताको साथ म जहिल्यै सामान्य जनताको साथ र सम्पर्कमा रहेको छु । देशभर गुनासो सुनिन्छ, निर्वाचन जितेपछि नेताहरु जनताको सम्पर्क र साथमा पुगेनन् । तर यहाँहरुलाई गर्वको साथ भन्छु, म जहिल्यै सबै जनताको सम्पर्क र साथमा रहेको छु । जनताका सबै खालका समस्या सम्बोधनको निम्ती मैले अधिकतम् प्रयास गरेको छु ।

३) निर्वाचनको क्रममा मैले ‘समृद्ध धनकुटा र सुखी धनकुटेली’को लागि काम गर्ने प्रतिबद्धता जनाएको थिएँ । यस बेला म बढो दृढ विश्वासको साथ भन्न सक्छु, मैले ‘समृद्ध धनकुटा र सुखी धनकुटेली’ निर्माणको लागि गहिरो इमान र उच्च समपर्णको साथ अहोरात्र खटेँ । कतिपय नेताहरु मञ्चमा वा संसदको पोडियम मात्रै कुरा गर्ने गरेको तथ्यहरु हामीले देखेका छौं । तर मैले धनकुटाको समृद्धिको लागि हरेक मन्त्रालयको कोठाचोटा चहारेको छु । मन्त्रालयको सहयोगीदेखि सचिव, मन्त्री र प्रधानमन्त्रीसँग समन्वय गरेको छु । धनकुटाको विकास र समृद्धिको निम्ती सिंहदरबारमा हस्तक्षेपकारी र समन्वयकारी भूमिकामा अहोरात्र खटेको छु ।

हो, त्यसैको प्रतिफल हो धनकुटामा आएको बजेट । यस बिचमा ३३ अर्व ५६ करोड ५५ लाख ५० हजार रुपियाँ बजेट संघीय सरकारबाट मैले धनकुटामा विनियोजन गराउन सफल भएको तथ्य यहाँहरु मार्फत जनतालाई थाहा दिन पाउँदा खुसी छु । संघीय सरकारबाट ३३ अर्व ५६ करोड ५५ लाख ५० हजार सहित राष्ट्रिय गौरवको आयोजनामा ७ अर्व रुपियाँ धनकुटामा विनियोजन भएको छ । जम्मा बजेट ३० अर्व ६१ करोड ५५ लाख ५० हजार रुपियाँ धनकुटामा बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म ५ वर्षको कार्यकालमा मेरो पहलमा संघीय सरकारबाट धनकुटा जिल्लामा विनियोजन भएको रकमको विवरण यस प्रकार छ :

४) धनकुटाको भौतक पूर्वाधार, कृर्षि, पर्यटन, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतको विकासको निम्ती गएको ५ वर्षमा माथि उल्लेखित रकम विनियोजन हुनु गौरवको कुरा हो भन्ने मलाई लाग्छ । हामीले मान्ने गरेको वा भन्ने गरेका ठुला नेताहरुको निर्वाचन क्षेत्रलाई तुलनात्मक अध्ययन गरेर हेर्नुहोस्, तुलनात्मक आधारमा हामीले धेरै बजेट ल्याउन सफल भएका छौं । यस बाहेक धनकुटाको सबै स्थानीय तहहरुमा अधिकतम् बजेट विनियोजन गराउनको निम्ती मैले निरन्तर पहलकदमी र नेतृत्व लिएको छु ।

५) मैले अघि पनि उल्लेख गरेको छु । प्रतिनिधिसभा सदस्य अर्थात् धनकुटेली जनताहरुको एकजना प्रतिनिधि हुनुको नाताले मैले यहाँका जनताहरुको हरेक अप्ठ्यारो र सजिलोमा सहभागी भएको छु । ‘माननीयहरु चुनावको बेला मात्रै गाउँ फर्किन्छन्’ भन्ने पुरानो मान्यता भत्काएको छु । प्रतिनिधिसभाको बैठक र बजेट विनियोजनको लागि पहलकदमी बाहेकको समय मैले सबै धनकुटामा बिताएको छु । केवल विकास र नीति गत बिषयमा मात्रै होइन जनताको सामान्य काम र समस्याहरु सम्बोधनको निम्ती पहलकदमी गरेको तथ्य यहाँहरुलाई अवगत नै छ ।

प्रिय सञ्चारकर्मी साथीहरु,


 यहाँहरुलाई थाहा छ, गत ५ वर्ष हाम्रो लागि उतिधेरै सुखद रहेन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) को कारण दुई वर्षभन्दा बढी समय हामी असाध्यै संकटको बिचमा रह्यौं । लामो समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यतामा थियौं । ७० हजार वर्षको इतिहासमा मानव समाजले यतिधेरै निरह र असुरक्षित महसुस गरेको यो पहिलो पटक थियो । ‘अब भोलि के होला ?’ यहि पीडादायी प्रश्नसहित मानव समाज नै ठूलो त्रासदी र अनिश्चितताको अवस्थाबाट गुज्रिनु परेको थियो । पृथ्वीमाथि आफ्नो सर्वोच्चता कायम गरेको मानव समाज यसबेला साँच्चीकै निरह हुनुपरेको थियो । यो समयमा धनकुटा वा नेपाल मात्रै होइन विश्वमा पनि आर्थिक गतिबिधिहरु ओरालो लागेको तथ्य यहाँहरुलाई थाहा नै छ । त्यही कारण हामीले सोचे अनुसारको विकास निर्माणका काम गर्न सकेनौं । गएको ५ वर्षको समय यस्तो समयको रुपमा हामीले बितायौं की आर्थिक समृद्धि भन्दा मानव समाजको रक्षाको निम्ती हामीले हाम्रा सम्पूर्ण बल बर्कतहरु खर्चिनु पर्ने अवस्थाको सृजना भयो । कोरोना भाइरस रोग (कोभिड–१९)बाट जनतालाई जोगाउनको निम्ती मैले प्रतिनिधिसभाको सदस्यको रुपमा सबै प्रयास र प्रयत्नहरु गरेँ । तुलनात्मक रुपमा अन्य जिल्लाहरु भन्दा धनकुटा कोरोना भाइरस रोग (कोभिड–१९)बाट सुरक्षित बनाउन सफल भयौं । हाम्रो कार्यकालको यति लामो समयअवधि कोरोना भाइरस रोग (कोभिड–१९)को महामारीमा बिताउन नपरेको भए धनकुटाको बिकास र समृद्धिको अवस्था यो भन्दै धेरैमाथि हुनेथियो । धनकुटेली जनताहरुको आर्थिक अवस्था धेरैमाथि पुग्ने थियो । पुरै समय धक फुकाएर विकास र समृद्धिको अभियानमा लाग्न नपाएकोमा भने दुःख लागिरहेको छ ।

 २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै यहाँका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले लोकतन्त्र तथा देशभक्तिपूर्ण आन्दोलनका साथै सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्दै आइरहेका छन् । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षाका सवालमा अग्रभूमिका खेलेका छन् । कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पहरेदारी गदै आएको छ । संसद् र सरकारमा सामेल भएर कम्युनिस्ट क्रान्तिकारीहरूले सुधारात्मक कामहरूद्वारा सामाजिक–आर्थिक रूपान्तरणलाई गति दिन तथा राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको पक्षमा महत्वपूर्ण काम गरेका छन् । ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने प्रतिबद्धताको साथ गत निर्वाचनमा हामीले वाम गठबन्धन गरेका थियौं । जनताले हामीलाई साथ दिनु भएको थियो । तर राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको बिरुद्धमा रहेका शक्तिहरुको कारण विचमा अनेकौं अबरोध आइलाग्यो । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको समृद्धिको महाअभियानको सुरुवातदेखि अबरोध र षड्यन्त्र सुरु भयो । त्यो षड्यन्त्र र अबरोधलाई पन्छाएर पुन अभियान सुरु गर्न जनताकोबीचमा ताजा जनमत लिन जानको निम्ती निर्वाचनको घोषणाको अवस्था आयो । तर जनादेश प्राप्त सरकारलाई अदालतको परमादेशले उल्टिनुपर्ने अवस्था आयो । यस प्रकारको आरोह र अबरोहरुको कारण पनि हामीले योजना अनुरुप काम गर्न सकेनौं ।

प्रिय सञ्चारकर्मी साथीहरु,
माथि उल्लेखित कारणहरुले धनकुटा समृद्धिकको लागि हामीले बनाएका हाम्रा विकास योजना र समृद्धि सपनाहरु अधुरा छन् । आगमी ४ मंसिर २०७९ मा फेरि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुदैछ । तर यो निर्वाचन असाध्यै फरक अवस्थामा हुन लागिरहेको छ । एकातिर हाम्रो पार्टी नेकपा (एमाले) छ । अर्कातिर ५ दलीय सत्ता गठबन्धन । नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) विरुद्ध ५ दलीय सत्ता गठबन्धन मात्रै छैन । नेपाली जनताको समृद्धि र स्वाधीनताको बिरुद्धमा उभिएका अनेकौं शक्तिहरु अर्कातिर जुरुक्कै उभिएको छ । नेकपा (एमाले) जसले ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पको नेतृत्व गर्दै यो मुलुकलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व गरीरहेको छ । विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दै सन्तुलित परराष्ट्र नीतिको माध्यमबाट मुलुकलाई स्वाधिन बनाउन दृढतापूर्वक उभिएको छ । दलाल पुँजीवाद बिरुद्ध लड्दै राष्ट्रिय पुँजीको बिकास गरेर मुलुकलाई समाजवादमा लैजाने कामको नेतृत्व गरीरहेको छ । एमाले विरुद्ध उभिएको सत्ता गठबन्धन जसले मुलुकलाई बरबादीको बाटोमा लैजान अनेकौं हत्कण्डा गरीरहेको छ । भ्रष्टचारको पहाडमा उभिएको यो सरकारले मुलुकलाई पराधिनता तर्फ लगिरहेको छ । मुलुकको अर्थतन्त्र संकटमा छ । मुलुकको स्वाधीनता इतिहासमै असाध्यै कमजोर भएको छ ।
हामीलाई थाहा छ, अहिले हामीसँग दुईवटा बाटा छन् । पहिलो– समाजवादी बाटो । दलाल पुँजीवाद विरुद्ध लड्दै राष्ट्रिय पुँजीको विकास गरेर समाजवादको आधार निर्माण गर्ने । गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सू–संस्कृत, समतामूलक समाज निर्माण गर्ने ।


दोस्रो– नवउदारवादी बाटो । उदारवादी अर्थव्यवस्थाबाट नेपाललाई साम्राज्यवादीको बजार बनाउँदै मुलुकलाई परनिर्भरतामा धकेल्ने र राज्य नागरिकका सबै उत्तरदायित्वबाट भागेर दलाल पुँजीपतिको सेवा गर्ने । पहिलो बाटो नेकपा (एमाले)को बाटो हो । दोस्रो बाटो सत्तागठबन्धनको ।

कुन बाटोमा मुलुक हिड्ने ? यसको फैसला आगमी ४ मंसिर २०७९ मा हुनेछ । निश्चित रुपमा पहिलो बाटोमा मुलुकलाई हिडाउने ऐतिहासिक जिम्मेवारी हामीलाई छ । नेकपा (एमाले) धनकुटा अब तत्कालै यही जिम्मेवारीबोधका साथ उम्मेदवारहरु घोषणा गरेर जनताको घर दैलोमा पुग्ने पनि तपाईहरु मार्फत जानकारी गराउँदछु ।
अन्तमा यहाँहरुले यसविचमा गर्नुभएको साथ, सहयोग र सद्भावको निम्ती म हार्दिक आभार प्रकट गर्दछु । आगमी दिनमा पनि यहाँहरुको यसप्रकारको साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछु ।
………..
राजेन्द्रकुमार राई
प्रतिनिधिसभा सदस्य, धनकुटा
केन्द्रीय सदस्य, नेकपा (एमाले)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७