हट्यो मतदान गर्न तीन दिन हिंड्नु पर्ने वाध्यता


५ आश्विन २०७९, बुधबार
humla

हुम्ला । मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका-३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ ।

मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए । विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुशी भएका छन् । यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए । केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे । आउँदा-जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साविक मतदानस्थल ४६ कायम छन् । ठाउँसारी कायम चार र सात नयाँ थप समेत गरी ५७ मतदानस्थल रहेको उनले बताए । हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन् । २३ घरधुरी रहेको मासपुरको कुल जनसंख्या एक सय तीन रहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७