नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर


५ आश्विन २०७९, बुधबार
milk
फाइल फोटो

नवलपुर । दूध, मासु र अण्डामा नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीन वटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख सात हजार एक सय ९० मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लाको आवश्यकता भने जम्मा ३४ हजार छ सय ८० मेट्रिक टन रहेको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको दूध बाहिर बिक्रीका लागि लैजाने गरिएको छ । कार्यालयले दूधमा उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख गुरागाईँले बताए । प्रतिलिटर दूधमा यहाँ सहकारीमार्फत सञ्चालित दुग्ध सङ्कलन केन्द्रबाट सो अनुदान दिने गरिएको छ । ‘दूध उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान समेत प्रदान गर्दै आएका छौँ, यसबाट पनि किसान लाभान्वित भएका छन्’, उनले भने, ‘बजेट पर्याप्त नहुँदा सहकारीलाई निश्चित रकम प्रदान गर्ने गरिएको छ ।’

यसैगरी मासुमा पनि नवलपुर आत्मर्निभर भएको छ । नवलपुरमा गत आर्थिक वर्षको तथ्याङ्कानुसार १२ हजार चार सय ९० मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लामा आवश्यकताभन्दा सात हजार एक सय ५५ मेट्रिक टन बढी हो । प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता रहेकामा नवलपुरमा ३२ दशमलव सात किलो उपलब्ध रहेको कार्यालय प्रमुख गुरागाईले बताए ।

जिल्लाको जनसंख्या र प्रतिव्यक्ति आवश्यकताको तुलनमा अण्डा उत्पादन समेत धेरै हुने गरेको छ । प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकता रहेकामा नवलपुरमा प्रतिव्यक्ति प्रतिवर्ष ९० वटाका दरले अण्डाको उपलब्धता रहेको छ । प्रतिव्यक्ति आवश्यकताका आधारमा जिल्लामा अण्डाको उत्पादन धेरै रहेको र बढी भएको उत्पादन जिल्ला बाहिर बिक्री गरिन्छ ।

दूध, मासु र अण्डा आवश्यकता तथा उपलब्धताका आधारमा बढी उत्पादन भएको गुरागाईले बताए । माछाको उपलब्धतासमेत जिल्लामा राम्रो रहेको छ । ‘जिल्लामा माछाको उत्पादन पनि राम्रो छ, आवश्यकता प्रतिव्यक्ति कति भनेर पहिचान गरिएको छैन, यसले गर्दा आत्मनिर्भर नै भन्न सकेका छैनौं’, उनले भने, ‘माछा समेत जिल्ला बाहिर बिक्री गर्ने गरिएको छ ।’

गत आवको तथ्याङ्कानुसार नवलपुरमा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएको थियो । नवलपुरमा पोखरीको संख्या एक हजार पाँच सय १७ रहेको कार्यालयले जनाएको छ । यसबाहेक माछा उत्पादन हुने खोला, नदी जस्ता प्राकृतिक जलाशयको क्षेत्रफल दुई हजार आठ सय ४५ रोपनी छ ।

सरकारले पशुपंक्षीपालन, माछापालनमा विभिन्न अनुदान दिने गर्दा नवलपुरमा यसतर्फ कृषकको आकर्षण समेत बढ्दै गएको छ । ठूला सहर तथा उद्योगले पशुपक्षीजन्य वस्तु खपत गर्दै आएका छन् । बजारको समस्या नरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७