धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती


५ आश्विन २०७९, बुधबार
Makai

झापा । भद्रपुर नगरपालिका-५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् ।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर-कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । ‘धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ’, यादव भन्छन्, ‘बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहेनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकैखेती गर्दै आएको छु ।’

उनले प्रतिबिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उहाँले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए ।

यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए । उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकैखेती आफूले सुरु गरेको उनको तर्क छ । ‘गर्दा यही हुँदोरहेछ’, उनले भने, ‘व्यापारीले पनि भारतपुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकैखेती गर्दा हुन्छ ।’

कृषि ज्ञान केन्द्रका पूर्व प्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुशीको कुरा भएको बताए । उनले असारदेखि कात्तिक मंसिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७