शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह


५ आश्विन २०७९, बुधबार
krishna pahadi

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा आज काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुसः युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुसः युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुसः युद्ध रोक, शान्ति प्रवर्द्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देशः युद्ध निषेध लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको उपस्थिती रहेको थियो ।

धर्ना पश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी दुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै आज नै शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७