अख्तियारद्वारा राष्ट्रपति भण्डारी समक्ष बत्तिसौं बार्षिक प्रतिवेदन पेश


५ आश्विन २०७९, बुधबार
Prem Kumar Rai and President Bidya Devi Bhandari scaled

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

बुधबार राष्ट्रपतिको कार्यालयमा विशेष समारोहकाबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति भण्डारीले आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन ग्रहण गदै संवैधानिक दायित्वअनुरुप कार्यसम्पादन गरी बार्षिक प्रतिवेदन पेश गरेकोमा आयोगलाई धन्यवाद दिइन् । सुशासन कायम गर्न उच्च मनोवल र नैतिकताका साथ अघि बढ्नुपर्ने औंल्याउँदै राष्ट्रपति भण्डारीले यस अभियानमा सबैको साथ रहनुपर्ने बताइन् । आयोगले आफ्नो भूमिका निर्वाह गर्दा सदाचार, निष्पक्षता र निर्भीकतालाई आत्मसात गरेकोमा खुसी व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्तिले मुलुकलाई गम्भिर असर पार्ने भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियामक निकायले सुशासन कायम गर्ने कार्यमा भूमिका निर्वाह गरेको विश्वास व्यक्त गदै आयोगले अनुसन्धानलाई अझै बैज्ञानिक बनाउन आयोगको संस्थागत क्षमता विकास आवश्यक रहेको बताइन् ।

आयोगको वार्षिक प्रतिवेदनमा उल्लिखित विषय प्रसंशनीय रहेको र आयोगले संवैधानिक तथा कानुनी विषयमा दिएका सुझाबहरूको नेपाल सरकारले कार्यान्वयन गर्ने बताउँदै आयोगलाई थप सफलताको लागि शुभकामना समेत व्यक्त गरिन् ।

Prem Kumar Rai and President Bidya Devi Bhandari



निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गर्न अख्तियार प्रतिवद्ध छ : प्रमुख आयुक्त राई

आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन पेश गदै प्रमुख आयुक्त राईले आयोग प्रतिबद्ध रही सक्षमता, निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गर्न प्रतिवद्ध रहेको कुरा बताए । संवैधानिक जिम्मेवारी र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने कामप्रति आयोग दृढ रहेको उनको भनाई छ ।

आर्थिक बर्ष २०७८/७९ मा आयोगले सम्पादन गरेका प्रमुख कामकारबाहीहरुको संक्षिप्त विवरण सारांशको रुपमा प्रस्तुत गर्दै प्रमुख आयुक्त राईले संवैधानिक जिम्मेवारी र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने कामप्रति आयोगलाई थप सुदृढ, उत्तरदायी र जिम्मेवारपूर्ण ढंगले क्रियाशील बनाउने बताए ।

प्रमुख आयुक्त राईले विगतमा तय गरिएका प्राथमिकतालाई समयानुकुल परिमार्जन गरी अघि बढाउने गरी आगामी कार्यदिशा तय गर्ने तथा सो बमोजिमका चारवटै रणनीतिमा केन्द्रित रही नवीनतम् विधि र प्रविधिहरू अवलम्बन गरी कामकारबाहीहरू अघि बढाउने बताए ।

प्रमुख आयुक्त राईले मुलुकमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तीनै तह, अंग एवं निकायहरू,गैरसरकारी तथा निजी क्षेत्र, नागरिक समाज,सञ्चारजगत, अन्तर्राष्ट्रिय समुदाय एवं आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका लागि धन्यबाद व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा समेत सहयोग, समन्वय र सहकार्यको अपेक्षा आयोगले गरेको छ ।’

आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन पेश गर्ने समारोहमा आयोगका आयुक्तहरु माननीय किशोर कुमार सिलवाल, माननीय जय बहादुर चन्द, माननीय डा। हरि पौडेल, माननीय डा। सुमित्रा श्रेष्ठ अमात्य, आयोगका सचिव, महाशाखा प्रमुख र कर्मचारीहरुका साथै राष्ट्रपतिको कार्यालयका सचिव तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।

आयोगले पेश गरेको ६ परिच्छेद् संलग्न ४४९ पृष्ठको प्रतिवेदनमा आयोगको परिचय, आयोगवाट भएका निर्णय, अनुसन्धान र अभियोजनसम्बन्धी कार्यको विश्लेषण, भ्रष्टाचार नियन्त्रणका निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरु, संस्थागत सुदृढीकरणमा आयोगको क्रियाशीलता, भ्रष्टाचारजन्य कार्यहरुको प्रवृत्ति विश्लेषण, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोगवाट नेपाल सरकारका तीनवटै तहहरुलाई दिइएका सुझावहरु, आयोगको रणनीति र आगामी कार्यदिशा तथा उपसंहार लगायतका विषयहरु समावेश रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७