एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’


३१ आश्विन २०७४, मंगलवार
krishana kumar rai

काठमाडौं :  काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो ।krishna kumar rai

मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति राईले हाल बेलायत सरकार, नेपाल सरकार र गोरखाहरुबिच त्रिपक्षीय वार्ता जारी रहेको जानकारी दिदैं वार्तामा गोरखाहरुले राखेका माग पुरा गराउनका लागि एनआरएनएले संसारभरीबाट दबाब दिन अनुरोध समेत गरे । उनले संसारभरीका नेपालीहरुलाई गोरखाहरुको न्यायपूर्ण आन्दोलनमा साथ, सहयोग र समर्थन जनाउन अपिल समेत गरे । भने,‘हाम्रो पीडा तपाईहरुको पनि पीडा हो, तपाईहरुको दुःख हाम्रो पनि दुःख हो भन्ने हाम्रो बुझाई छ । हाम्रो अभियान र आन्दोलनमा तपाईहरुको साथ, सहयोगको अपेक्षा गरेका छौं ।’krishana kumar rai

गोरखाहरुको मुद्दा सबै नेपालीहरुको मुद्दा भएको उल्लेख गर्दे गेसो सभापति राईले गोरखाहरुको मुद्दा, पीडा र समस्याले सबै नेपालीहरुलाई छुनुपर्ने बताए । उनले गोरखाहरुको पीडा र समस्याप्रति सबै गम्भिर नभएको गुनासो समेत गरे । उनले विश्वभरका नेपालीहरुलाई सोधे,‘हामी गोरखाहरुले सात समुन्द्र पारी भोगिरहेका, खेपिरहेका समस्याले संसारभरीका नेपालीहरुलाई छुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अरुको समस्या र पिडाले छुदा गोर्खाहरुको पीडाले किन छँुदैंन ?’ सभापति राईले आफ्नो प्रस्तुती राख्दा सबैले चासोका साथ सुनेका थिए ।

‘उपलब्धी नजिक छौं, सबैले दबाब दिनुहोस्’
सभापति राईले गोरखा, बेलायत सरकार र नेपाल सरकारबिच त्रिपक्षीय वार्ता जारी रहेको बताउदै सबैले दबाब दिन अनुरोध गरे । उनले भने, ‘गोरखाहरुको माग सम्बोधनको निम्ती बेलायत सरकार केही सकरात्मक देखिएको छ । हामी आशाबादी छौं । छिटो समधानको निम्ती सबैले संसारभरीबाट दबाब दिन हाम्रो अनुरोध छ ।’ उनले हाल सबै गोरखाहरु एक भएर अभियान र आन्दोलन गरिरहेको बताउदै खुसी समेत व्यक्त गरे । भने, ‘हामी सबै एक भएर लागिरहेका छौं, अब तपाईहरुको सहयोग हाम्रो लागि अपेक्षित छ ।’

उनले यो मुद्दा सबैले उठाउनु पर्ने मुद्दा भएको दाबी बताए । ‘नेपाल राष्ट्र र बेलायतबीचको औपनिवेशिक सम्बन्धको समस्या हो र समग्रमा बेलायतको रंगभेदसँग सम्बन्धित मुद्दा पनि हो,’ उनले भने, ‘त्यसैले यो ब्रिटिस जनता तथा बुद्धिजीवीहरुले पनि चासोपूर्वक उठाउनुपर्ने मुद्दा हो । त्यति मात्रै होइन, यो मुद्दा विश्वभरिका न्यायका पक्षधर मानवअधिकारकर्मी र स्वयम् नेपाल सरकारले उठाउनैपर्ने मुद्दा हो ।’

सभापति राईले यी विभेद, शोषण र अपमान ब्रिटिस सेनामा काम गर्ने ‘गोरखाली’हरुको मात्र समस्या नभएर नेपाल राष्ट्रकै राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या पनि भएको बताए । आफूलाई मानवअधिकार र लोकतन्त्रको जननी मान्ने देशको सरकारले दुई सय वर्षदेखि गोरखा सैनिकहरुलाई लज्जास्पद र घृणित ढंगले अपमान, दुव्र्यवहार र चरम शोषण गर्दै अमानवीकरण बताए । उनले भने, ‘रोजगारीको नाममा मानवव्यापारजस्तो जघन्य अपराध गरेको छ । यी मानवताविरोधी अपराध आम नेपालीका लागि मात्रै होइन स्वयं ब्रिटिस जनता, बौद्धिक जगत, मानवअधिकारवादी समुदाय र बुद्धिजीवी तप्काका लागि पनि लज्जाको विषय हो ।’

जसले बेलायतलाई सर्वशक्तिमान बनायो, उसैलाई अन्याय किन ?
सभापति राईले गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लडेर बेलायतको रक्षा र बिस्तार गरे पनि बेलायतले गोरखाहरुमाथि अन्याय गरेको बताए । ‘गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लड्यौं । हाम्रा हजारौं पुर्खाहरु मारिए, घाइते र बेपत्ता भए, त्यही कारण संसारभरि बेलायतले साम्राज्य विस्तार गर्यो । कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा स्थापित भयो । विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो,’ उनले भने,‘तर हामी यसरी लडिदिनेलाई बेलायतले चरम विभेद गरिररहेको छ ।’

गोरखाहरुले पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार र रक्षाको लागि लडेको उल्लेख गर्दे उनले भने,‘विश्व रंगमञ्चमा ब्रिटिस सर्वशक्तिमान राष्ट्र बनेपछि तिनै गोरखा सैनिकहरुलाई विभेद मात्रै होइन चरम अन्याय र शोषण गरियो । न्यूनत्तम् मानवीय व्यवहारसमेत गरिएन ।’ एनआरएनएको ८ औं विश्व सम्मेलनको अन्तिम सेसनमा आज गोरखाहरुको बिषयमा छलफल तथा प्रस्तुती राखिएको हो ।

एनआरएनएको ८ औं विश्व सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलनबाट निवर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न चुनावमा भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।

सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । यो कार्यकाल दुई वर्षको हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७