राष्ट्र संघमा परराष्ट्र सचिव पौड्यालले भने, ‘नेपाल असंलग्न आन्दोलनप्रति प्रतिवद्ध छ’

‘नामले सहयोग अभिवृद्धि गर्ने लक्ष्य राख्नुपर्छ’


६ आश्विन २०७९, बिहीबार
bharatraj pyaudel nuyork 2 eDbYR9pbi7

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्र संघको ७७ औँ महासभाको पूर्व सन्ध्यामा बुधबार सम्पन्न असंलग्न आन्दोलन (नाम) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्र सचिव पौड्यालले जलवायु परिवर्तन र कोभिड-१९ महामारीले विकासोन्मुख र गरिब मुलुकमा पारेको नकारात्मक प्रभावबारे प्रकाश पारेका थिए । उनले यस्ता प्रतिकूलताहरू विरुद्धको लडाइँ जित्न र महामारीपछिको बाटो तय गर्न नामको भूमिकामा जोड दिएका थिए ।

‘नामले बलियो सहयोग अभिवृद्धि गर्ने, जीवन र जीविकोपार्जनमा ध्यान केन्द्रित गर्ने र सबैका लागि समान अवसरहरू सिर्जना गर्न योगदान गर्ने लक्ष्य राख्नुपर्छ,’ परराष्ट्र सचिव पौड्यालले भने । उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक, समावेशी र प्रभावकारी बनाउन विश्वव्यापी वित्तीय शासन प्रणालीमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

पौड्यालले नामले उत्तर र दक्षिणबीचको विभाजनलाई सम्बोधन गर्न एउटा शक्ति बनेर निःशस्त्रीकरणको दायित्व निःशर्त पूरा गर्नमा जोड दिनुपर्ने बताएका थिए । अमेरिकाको न्यूयोर्कमा आयोजित असंलग्न आन्दोलनमा आबद्ध देशका मन्त्रीहरुको बैठकमा नेपालका तर्फबाट सचिव पौड्यालले भाग लिएका हुन् ।

उनले असंलग्न आन्दोलनको एक संस्थापक मुलुक हुनुका नाताले नेपालको अटुट प्रतिबद्धता दोहोर्‍याए । ‘शान्ति र समृद्धि हासिल गर्ने असंलग्न आन्दोलनका साझा आकांक्षा पुरा गर्न नेपाल प्रतिबद्ध छ’ पौड्यालले भने । बुधबार साँझ परराष्ट्र सचिव पौड्याल अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७