नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा मन्त्रीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा


७ आश्विन २०७९, शुक्रबार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर काम गर्ने शिक्षक गीता सोडारी विरुद्ध मुद्दा दायर गरेको छ । कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक सोडारी विरद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

ओरोपित सोडारी नेकपा (एकीकृत समाजवादी)का नेता तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीका श्रीमती हुन् । शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक सोडारीले बोर्ड अफ सेकेन्डरी एजुकेशन दिल्ली भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारद्धारा विज्ञप्तिमा उल्लेख छ ।

सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्धारा विज्ञप्तिमा भनिएको छ,‘ राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७