गुणस्तरहीन भ्युटावर निर्माण : अख्तियारद्वारा अध्यक्ष शर्मा सहित तीन विरुद्ध मुद्दा दायर


७ आश्विन २०७९, शुक्रबार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन र असुरक्षित निर्माण गरेर भ्रष्टचार गरेको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । बाँकेको कोहलपुर–४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया राना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु बिरुद्ध १५ लाख ८ हजार ६ सय ९ रपियाँ विगो कायम गरी मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्युटावर निर्माण गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६ सय ९ गरेर गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको दखिएको कारण मुद्दा दायर गरिएको हो ।

आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सा समेत वेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया रानाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफा १७ ले निर्देषित गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र ऐ. दफाको उपदफा ९१० को खण्ड (च) बमोजिम विगो रु १५,०८,६०९।– कायम गरी कैद सजाय र विगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको रकमसमेत निजहरूबाट असुलउपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा ३५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७