‘आक्रामक’ अख्तियार : एकै दिनमा ७ वटा भ्रष्टाचार मुद्दामा २४ जनाविरुद्ध मुद्दा  दायर

एकै दिनमा ७ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर


७ आश्विन २०७९, शुक्रबार
Prem Kumar Rai 1

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको अनुसन्धानलाई तिव्र बनाएको छ । आयोगले शुक्रबार (७ असोज २०७९) एकैदिन विशेष अदालतमा ७ वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शुक्रबार दायर गरिएको ७ मुद्दाको प्रतिवादी २४ जना छन् । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने आयोगले गहिरो अनुसन्धानमा जोड दिदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियारले सक्षमता, निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गरीरहेको बताएका छन् ।

आयोगले यसअघि मुख्यसचिव शंकरदास बैरागीसहित विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान र विभागीय प्रमुखहरूलाई आफ्नै कार्यालय टंगालमा बोलाएर भ्रष्टाचार निवारण र सुशासन प्रर्वद्धन बिषयमा लगातार तीन दिन बैठक गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहजसार्वजनिक सेवा प्रवाह, सुशासन स्थापना र विकास निर्माणका कार्यहरुको प्रभावकारिताको लागि साउन २४, २५ र २९ गते बैठक गरेको हो । बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न चरणमा विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान र विभागीय प्रमुखहरुसँग वैठक गरेर आयोगले सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन निर्देशन दिएको थियो ।

१) नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा मन्त्रीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर काम गर्ने शिक्षक गीता सोडारी विरुद्ध मुद्दा दायर गरेको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक सोडारी विरद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

ओरोपित सोडारी नेकपा (एकीकृत समाजवादी)का नेता तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीका श्रीमती हुन् । शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक सोडारीले बोर्ड अफ सेकेन्डरी एजुकेशन दिल्ली भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारद्धारा विज्ञप्तिमा उल्लेख छ ।

‘२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२) राजश्व हिनामिना : सुब्बा गुप्ता र लेखापाल ढकाल विरुद्ध मुद्दा दायर
यसैगरी आयोगले राजश्व हिनामिनाको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकाल विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुब्बा गुप्ताले दुईवटा लिखत पारित गरी राजश्व हिनामिना र लेखापाल ढकालले राजस्व हिनामिनामा सहयोग गरेर संग्लन भएको भन्दै विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

गुप्ता र ढकाल विरुद्ध १२ लाख सैतीस हजार नौ सय बैसठ्ठी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । नायव सुब्बा गुप्ताले जग्गा प्रशासन निर्देशिका, २०५८ को दफा ३१८ वमोजिम प्रत्येक फाँटवालाहरुले दैनिक असूल गरेको राजश्व सोहीदिन तोकिएको ढाँचामा चलानी सहित लेखा शाखामा दाखिला गर्नुपर्ने, चलानी तयार गर्दा राजस्व प्राप्त भएको रसिद नं। समेत उल्लेख गर्ने भन्ने कानूनी व्यवस्थाको विपरित निजले सेवाग्राहीबाट संकलन रकम हिनामिना गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

३) गुणस्तरहीन भ्युटावर निर्माण : अध्यक्ष शर्मा सहित तीन विरुद्ध मुद्दा दायर

यसैगरी आयोगले गुणस्तरहीन र असुरक्षित निर्माण गरेर भ्रष्टचार गरेको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । बाँकेको कोहलपुर–४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया राना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु बिरुद्ध १५ लाख ८ हजार ६ सय ९ रपियाँ विगो कायम गरी मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्युटावर निर्माण गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६ सय ९ गरेर गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको दखिएको कारण मुद्दा दायर गरिएको हो ।

४) सिंचाइमा भ्रष्टाचार : चार जना विरुद्ध भ्रष्टाचार मुद्दा
यसैगरी सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ ।

अख्तियारले घुमखहरे गाविसका सचिव खड्कबहादुर रोकाया, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्र प्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको हो ।

५) सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिको नाममा : ६ जनालाई भ्रष्टाचार मुद्दा
यसैगरी अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्ष समेत छन् ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुसेन साह, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस–१ (हाल बढैयाताल–६)मा चिरकु तेलीका नाममा २ विगाहा ६ कट्ठा जग्गा थियो । २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही भएनन् । कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दावी छ ।

अख्तियारले मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुमाथि स्थानीय तहको नाममा आउनुपर्ने जग्गा जैनव तेलीका नाममा अस्थायी लालपूर्जा दिएको आरोप लगाएको हो । जैनवको नाममा आएको जग्गा पछि सैजाद अलि तेलीको नाममा गयो । अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ । त्यो जग्गा किनेका कारण अञ्जना दाहालमाथि अख्तियारले जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको हो ।

६) कोटेश्वर दरबार निर्माणमा भ्रष्टाचार

यसैगरी अख्तियारले सुर्खेको सिम्ता गाउँपालिका वडा नं। ३ र ४ मा राजकाँडा कोटेश्वर दरबार निर्माणमा भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल र सहायक वन अधिकृत टेक बहादुर रावल लगायत विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाएको अख्तियारको दाबी छ ।

उनीहरु विरुद्ध चार लाख छत्तीस हजार सात सय बाइस रुपैयाँ नौ पैसा बिगो कायम गरिएको छ । यसैगरी एलिसा डिजाइन्स एण्ड विल्डर्सका प्रोपाइटर लोकेन्द्र राना विरुद्ध पनि मुद्दा दायर गरिएको छ । रानाले कारण बिना लागत इस्टिमेट अस्वाभाविक रुपमा बढाई यथार्थ नाँपजाच गरी कार्य मुल्यांकन गर्नुको साटो नभएको, नगरेको कार्यमा ४ लाख ३६ हजार ७ सय २२ बराबरको नक्कली बिल भरपाई बनाएको अख्तियारल जनाएको छ ।

यसैगरी कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, उपाध्यक्ष ध्रुव कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढा विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

कोटेश्वर दरबार निर्माणमा वास्तविक कामभन्दा बढी काम गरेको भनी नापी किताब, मूल्याङ्‍कन बिल, उपभोक्ता समितिको बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको वास्तविक कामभन्दा बढी भुक्तानी लिएर भ्रष्टाचारको अख्तियारको आरोपपत्रमा उल्लेख छ । रुद्र बहादुर बस्नेत, ध्रुव कुमार सिंह, युवराज पोखरेल र पदमा कुमारी बुढालाई चार लाख छत्तीस हजार सात सय बाइस रुपैयाँ नौ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

७) घाँस खरिदमा भ्रष्टाचार पशु विकास अधिकृत विरुद्ध मुद्दा
यसैगरी आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादव विरुद्ध मुद्दा दायर गरेको छ । पशु विकास अधिकृत यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरेको अख्तियारको आरोपत्रमा उल्लेख छ । यादवलाई एक लाख असी हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७