अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप


८ आश्विन २०७९, शनिबार
khop

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ ।

क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद् हुँदै बल्ल हामी जस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए ।

गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिलाई घरघरमा पुगेर कोभिडविरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुशी भएका हुन् । सारुले जस्तै २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

स्पाइनल इन्जुरीका कारण पूर्णरूपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहेका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुशी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर-घरमा नै गएर खोप लगाई दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । एकीकृत घुम्ती सेवामार्फत घर-घर र टोल-टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुशी छाएको उनले बताएृसरण् ।

चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो (बुस्टर) मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए । वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७