सुपथ मूल्य पसलले उपभोक्तालाई राहत


८ आश्विन २०७९, शनिबार
pasal

सुर्खेत । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारमा भन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो । कम्पनीको वीरेन्द्रनगर-६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ । शुक्रबार सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर-३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताए ।

उनले भने, ‘एक बोरा चामलमै रु सात सय सस्तो पर्नु धेरै सहुलियत हो, बरु सरकारले यस्तो पसल सधैँ सञ्चालन गरिदिए हुन्थ्यो ।’ वीरेन्द्रनगर-१२ की हीरा परियार पनि चामल लिन दुईपटक सुपथ मूल्य पसल आइन् । ‘पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ”, उहाँले भन्नुभयो, “स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई-चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु ।’

उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको बताए । एक पटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चालम बितरण गरिएको छ । ‘यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ’, उनले भने, ‘ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ ।’

न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरुले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ थियो । सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल बिक्रीका लागि राखिएको छ ।

उक्त कम्पनीले असोज १ गतेदेखि कणर्ालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सल्यान खाद्यान्नमा आत्मनिर्भर भएकाले त्यहाँ कम्पनीको कार्यालय छैन । सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लाका डिपोमा यस्ता पसल सञ्चालनमा छन् ।

कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार चार हजार सात सय प्रतिक्विन्टल मूल्य रहेको अरुवा मोटो चामलमा रु सात सय छुट, प्रतिक्विन्टल पाँच हजार रहेको जिरा मसिनो चामलमा रु सात सय, प्रतिक्विन्टल छ हजार रहेको स्टिम जिरा मसिनो सात सय र प्रतिक्विन्टल १० हजार पाँच सय पर्ने बास्मती चामलमा रु सात सय छुट दिइएको छ । त्यस्तै अरहर, मास र मसुरोको दालमा पनि प्रतिकेजी रु सात छुट दिइएको छ । कम्पनीले अनलाइन अर्डर गर्ने ग्राहकलाई घरमै डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।

उक्त कार्यालयको अन्य जिल्लाका सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको आर्कषण बढेको जनाएको छ । मुगु, डोल्पा, जुम्ला, दैलेख र कालीकोटमा सुर्खेतबाट थप चालम पठाइएको छ । ‘त्यहाँ मौज्दात चामल सकिन थालेपछि थप पठाइएको छ’, प्रमुख मिश्रले भने, ‘गोदाममा चामलको अभाव हुन नदिन ढुवानीकर्तालाई निरन्तर ताकेता गरिरहेका छौँ, ढुवानीको वैकल्पिक व्यवस्था पनि मिलाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७