मन्त्री बडू र युरोपियन युनियनका सांसद ख्राबबीच भेटवार्ता


८ आश्विन २०७९, शनिबार
eu

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपाल भ्रमणमा रहेका युरोपियन युनियनका सांसद म्याक्सिमिलियन ख्राबबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र युरोपियन युनियनको आर्थिक तथा कुटनीतिक सम्बन्ध, नेपालको राजनीतिक तथा आगामी मंसिरमा हुने प्रतिनिधिसभा- प्रदेशसभा निर्वाचन लगायनका विषयमा छलफल भएको छ । मन्त्री बडूले इयूले नेपालको शान्ति प्रक्रिया र आर्थिक सामाजिक विकासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धिका लागि सांसदको रुपमा पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालले इयूको सहयोगमा कार्यान्वयन गरिरहेको व्यापार र लगानी कार्यक्रमको नतिजा सन्तोषजनक रहेको र मन्त्रालयले बनाउन लागेको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनका लागि पनि इयूबाट महत्वपूणर् सहयोगको अपेक्षा रहेको जानकारी गराए ।

सांसद ख्राबले विगतदेखि नै नेपाल र इयूबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गराउँदै शान्ति, लोकतन्त्र र विकासका लागि इयूले नेपालसँग सधैं सहकार्य गर्न तयार रहेको बताए । उनले नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नती हुन लागेकोमा बधाई तथा शुभकामना दिँदै त्यसपछि पनि युरोपियन युनियनले नेपालको विकास प्राथमिकतामा आवश्यक सहयोग र सहकार्य गरिरहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७