फेरियो अल्पसंख्यक सुनाहा जातिको जीवनशैली


८ आश्विन २०७९, शनिबार
sonaha

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन । महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देखे न त माछा मारेर घर परिवार चलाएको सम्झना छ ।

महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ ।
अल्पसंख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वाड नं. १२ र १३ मा ७५ परिवार अल्पसंख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताए । ‘अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौं’, उनले भने, ‘अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ ।’ उनले सुनाहा जाति अल्पसंख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताए ।

‘आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ’, उनले भने, ‘हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।’ उनले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसंख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गरे ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताए । ‘उति बेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे’, उनले भने, ‘त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन् ।’ उनले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताए ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्छन् । उनले पुख्र्यौली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताए । ‘हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ ।’ उनले भने, ‘अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ ।’ उनले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताए ।

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायले पटक पकट जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताए । ‘सुनाहा जातिको समूह बनाएर काठमाडाँैसम्म पुगेका छाँै सुनुवाइ भएन’, घनश्यामले भने, ‘काठमाडाँै जान पैसा नभएर सबै प्रतिपरिवार दुई हजार उठाएर काठमाडाँै पुगेर आफ्ना माग राख्यौँ ।’

सुनाहा समुदायका बालबच्चाको शिक्षाका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने मेघादेवी सुनाहाले बताइन् । ‘आर्थिक समस्याका कारण हाम्रा छोराछोरीले विद्यालय जान पाएका छैनन्’, उनले भनिन्, ‘विद्यालयमा कक्षा ९ सम्म मात्रै निःशुल्क छ त्यसभन्दा माथि शुल्क लिने गरेका छन् ।’ उनलरे उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या हुँदा विद्यालय छोडेर रोजगारीका लागि भारतर्फ जाने गरेको बताइन् । यो समुदायको प्रमुख आय स्रोतका रुपमा महाकाली नदी रहेको छ । असोज महिनादेखि असारको महिनासम्म नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७